मकवानपुरमा हात्तीको आक्रमणबाट एक जनाकाे मृत्यु


मकवानपुर – मकवानपुरमा हात्तीको आक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ । बकैया गाउँपालिका – ५ पावसका ५० वर्षीय जनकलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।

प्रहरीका अनुसार गए राति बाख्रा ब्याएपछि गोठमा जाने क्रममा माझीलाई बाटोमै हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट बेहोस भएका माझीको उपचार गर्न हेटौँडा ल्याइएकोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसअघि त्यही हात्तीले मनहरीमा एक महिलाको ज्यान लिएको थियो भने हेटाैँडा उपमहानगरपालिका–१८ मा एक पुरुषलाई घाइते बनाएको थियो ।

मकवानपुरमा जङ्गली हात्तीले उग्र रूप लिँदै जाँदा स्थानीय त्रसित बनेका छन् । मानव बस्तीमा हात्ती प्रवेश गरेर मान्छेमाथि आक्रमण गर्दा पनि प्रशासनले केही नगरेकाे स्थानीयकाे आराेप छ ।

प्रतिक्रिया