आगामी निर्वाचनमा बार्षिक कार्ययोजनासहित आउने लक्ष्य छ : एमाले

काठमाडौं – नेकपा (एमाले) एक वर्षको कार्ययोजना बनाई कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले मिसन ग्रासरुट अभियानबाट प्राप्त भएको सुझावका आधारमा पार्टीले आगामी जेठदेखि चैतसम्म वार्षिक कार्ययोजना बनाई कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

पार्टी सुदृढीकरण गर्नका लागि एमालेले गत फागुन ५ गतेदेखि दुई महिना मिसन ग्रासरुट अभियान सञ्चालन गरेको थियो । उनले अहिले बसिरहेको केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तहबाट सुझाव दिई भोलि बिहान बस्ने पार्टीको स्थायी कमिटी बैठकले वार्षिक कार्ययोजना तयार पार्ने बताए ।

उनले जनताको पहिलो रोजाइबाट आगामी २०८४ सालको निर्वाचनमा पहिलो शक्ति बनाउने गरी कार्ययोजना बन्ने उनको भनाइ थियो । आजको केन्द्रीय कमिटी बैठकमा महासचिव शङ्कर पोखरेलले आगामी कार्ययोजनाका सम्बन्धमा मार्गदर्शन दिएका थिए ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसिरहेको बैठक यही वैशाख ३० गतेसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *