नेकपा एमालेको प्रतिनिधि परिषद् बैठक सुरू

ओलीद्वारा राजनीतिक प्रतिवेदन पेश


काठमाडाैं – नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक ललितपुरको गोदावरीमा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरी बैठकको शुभारम्भ गरेका हुन् ।

परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र नीति र नेतृत्वमा कुनै विवाद नभएको दाबी गरे । उनले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

उनले वामपन्थी एकता वा अन्य कुनै पनि नाममा राजनीतिक शक्तिहरुबीच ध्रुवीकरण उचित नहुने बताएका छन् । गएको महाधिवेशनयताका २९ महिनामा पार्टीले उत्पन्न जटिल अवस्थाको कुशलतापूर्वक सामना गरी अहिलेको सहज परिस्थितिमा आएको उनले बताए ।

गएको चुनावको बेला एमालेविरुद्ध घेराबन्दी गरिएको भन्दै अध्यक्ष ओलीले पार्टीले एक किसिमले युद्ध नै लडेर अहिले सहज अवस्थामा आएको बताए । कांग्रेस कमजोर भइसकेको र नयाँ भनिएका शक्ति पनि गलत बाटोमा हिंडिरहेको उनको भनाई छ । उनले राजतन्त्रको वकालत गर्नेहरु पनि सफल नहुने जिकिर गरे ।

भोलिसम्म चल्ने बैठकमा केन्द्रीय कमिटी, केन्द्रीय निकायका सदस्य, आयोजक र परिषद् सदस्य गरी दुई हजार चार सय ५४ जना सहभागी रहेको एमालेले जनाएको छ । बैठकमा महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया