एमालेको प्रतिनिधि परिषद बैठक आजदेखि


काठमाडौं – नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज (शनिबार) देखि सुरु हुँदैछ । वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ ।

यस बैठकमा २ हजार ४५४ जना सहभागी हुने भएका छन् । एमालेका महासचिव शंकर पोखरेलले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन् । उनले यस बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्ने बताए ।

बैठकमा मिसन ग्रासरुट संगठन सुदृढकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरेको झुलाघाट-चिवाभज्याङ यात्राको समीक्षा हुने उनले बताए । यसैगरी आगामी दिनमा वार्षिक कार्ययोजनाहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि बैठकमा समीक्षा हुने महासचिव पोखरेलले जानकारी दिएका छन् ।

बैठकमा एक जना विशिष्ट व्यक्तिलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरिने उनले बताए । कार्यक्रममा अध्यक्ष केपी ओलीका साथै प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायत अन्य पार्टीका शीर्ष नेताहरुलाई निमन्त्रणा पठाइएको छ ।

प्रतिक्रिया