रास्वपाले मुकुललाई जिम्मेवारीबाट हटायो, साधारण सदस्यता भने कायम


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई जिम्मेवारीबाट हटाएको छ । आज (मंगलबार) बसेको पार्टी केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

पार्टी अनुशासन आयोगले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो । तर, केन्द्रीय समिति बैठकले भने साधारण सदस्यता कायम राख्दै महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट मात्र हटाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।

उनलाई पुनरावेदनका लागि ३५ दिनको समय दिइएको जनाइएको छ । यसअघि गत बुधबार (असार १९) सात दिनका लागि ढकाललाई निलम्बन गरेको थियो । पार्टी अनुशासन विपरीतका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेको भन्दै ढकाललाई निलम्बन गरिएको थियो ।

बुधबारको बैठकमा ढकाल मुखमा मास्क र कालो टेप लगाएर पुगेका थिए । आज (मंगलबार) को बैठकमा भने उनी उपस्थित भएनन् । ढकालले एक महिना लगाएर तयार पारेको प्रतिवेदनमा समेटिएका केही विषयहरू सार्वजनिक भएपछि पार्टीभित्रको विवाद सतहमा आएको थियो ।

उनले पार्टी यही ढंगबाट चले आगामी निर्वाचनमा राष्ट्रिय पार्टी नहुनेदेखि सभापति रवि लामिछाने पार्टीमा एकलौटी ढंगले चलेकोसम्मका आरोप लगाएका थिए । यसबारे आफूले लेखेको प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक हुनुपर्ने र केन्द्रीय कमिटी बैठक लाइभ (प्रत्यक्ष प्रसारण) गर्नुपर्ने उनको माग थियो ।

ढकालले बैठक लाइभ गर्नुपर्ने भन्दै राखेको मागमा ९० प्रतिशत बढी केन्द्रीय सदस्यले विरोध जनाएका थिए । त्यसपछि मास्क र कालोटेप लगाएर बैठकमा बसेका ढकालले मिडियामार्फत प्रतिवेदन सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया