प्रतिनिधि सभा बैठक सुरू, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्दै


काठमाडौं – प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकबाट टीआरसी विधेयक पारित गर्नुअघि आज शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ ।

आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदैछ । सदनमा विधेयकउपर छलफलका क्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताले सम्बोधन गर्ने संसद सचिवालयले जनाएको छ ।

त्यसपछि कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले “कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस विधेयकमाथिको छलफल अघि बढ्नेछ। छलफलमा दलका शीर्ष नेताहरुले मात्र भाग लिने र विधेयक पारितका लागि निर्णयार्थ पेश गर्नेछन् ।

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरेकी थिइन् ।

प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो । विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो । समितिमा सहमति हुन नसकेका विधेयकका केही बुँदामा प्रमुख राजनीतिक दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदलले सहमति जुटाएको थियो ।

प्रतिक्रिया