नेपाल प्रहरीको इन्स्पेक्टर र असईका लागि आवेदन माग


काठमाडौं – नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदका लागि आवेदन माग गरेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै प्रहरीले ठुलो सङ्ख्यामा अधिकृत स्तर र सहायक स्तरमा भर्नाका लागि आवेदन मागेको हो ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर) ६४ जना र प्रहरी सहायक निरीक्षक (असई)मा दुई सय ३६ जनाको माग छ । प्रहरी निरीक्षकमा खुलातर्फ ३५, अमर/अशक्त प्रहरी परिवारमा १, महिलामा ६, आदिवासी जनजातिमा ९, मधेशीमा ८, दलितमा ४ र पिछडिएको क्षेत्रमा एउटा कोटा छुट्याएको छ ।

यस्तै प्रहरी सहायक निरीक्षकमा खुलातर्फ १३८, अमर/अशक्त प्रहरी परिवारमा ५, महिलामा २३, आदिवासी जनजातिमा ३६, मधेशीमा ३१, दलितमा १७ र पिछडिएको क्षेत्रमा ६ वटा कोटा छुट्याइएको छ । योग्य उम्मेदवारले भदौ ३० गते देखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना छनौट शाखाले जनाएको छ ।

प्रहरी निरीक्षकका लागि स्नातक तह पास गरी २० वर्ष उमेर पुगी २५ वर्ष ननाघेको हुनु पर्ने छ भने सहायक निरीक्षकका लागि भने प्रमाणपत्र तह पास गरी १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको हुनु पर्ने छ ।

प्रतिक्रिया