सन्दर्भ धान दिवस : कृषि प्रणाली सुधारे नेपालबाट धान निर्यात गर्ने अवस्थामा पुगिन्छ

काठमाडाैं – कृषि प्रणालीमा सुधार गर्न नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्नसक्ने अवस्थामा पुग्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे ठम्याइ छ ।

अखिल नेपाल किसान महासंघले १९औं धान दिवसका अवसरमा बुधवार भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाइँ महोत्सवमा उनले अहिले हामी आफैंले गर्दै आएको लापरबाही, असावधानीको अन्त्य गर्दै कृषिको आधुनिकीकरण, प्रविधिकरण र व्यावसायीकरण गर्नसके धान आयात नभई निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताए।

नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा रहेर पनि आयातको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद् भएको भन्दै उनले जग्गा प्लटिङका कारण बस्ती र खेती गोलमाल भएको बताए । प्लटिङ सिस्टमका कारण जथाभावी बस्ती बसालिएको भन्दै उनले कहाँ बस्ती राख्ने, कहाँ खेती गर्ने, कहाँ उद्योग स्थापना गर्ने भन्ने नै गोलमाल भइराखेको बताए।

नेपालको भूबनोट र हावापानी अनुसार नेपालमा धानबालीको लागि अति उपयुक्त देश भएको बताउँदै उनले धान, गहुँजस्ता अन्नबाली निर्यात गर्ने अवस्थालाई सुधार गर्न सकिने बताए । कार्यक्रममा उनले मशिनबाट धान रोपे । पत्नी राधिका शाक्यसँगै मशिनमा बसेर उनले खेतमा मशिन गुडाउँदै धान रोपाइँ गरेका छन् ।

कार्यक्रममा महासंघका अध्यक्ष डा. प्रेम दंगालले नेपालमा बर्सेनि ४३ अर्ब रुपैयाँको धान र चामल आयात हुने गरेको बताउँदै १५ लाख हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा ६५ लाख मेट्रिक टन धान नेपालले उत्पादन गर्न सके धानमा आत्मनिर्भर हुने बताए ।

कार्यक्रममा नेकपा एमालेका भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले असार १५ बितिसक्दा पनि सरकारले किसानलाई मल दिन नसक्दा धान उत्पादनमा ह्रास आउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *