अवैध रुपमा सञ्चालित ५ वटा कलेजमा सिल

वीरगन्ज – वीरगन्ज महानगरपालिकाले अनुमतिविना सञ्चालित पाँचवटा कलेजमा सिल गरेको छ। महानगरद्वारा गठित नियमन समितिले गत बुधबारदेखि सोमबारसम्म ८ दिनमा वीरगन्जमा अनुमति बेगर सञ्चालित पाँचवटा कलेजमा सिल गरेको हो।

सोमबार पनि जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनार (अजय सर्राफ)को नेतृत्वमा खटिएको टोलीले वीरगन्ज-१६ गहवास्थित माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालयमा अवैध रूपमा सञ्चालित अन्नपूर्ण कलेजमा सिल गरेको हो।

कलेज सञ्चालनका लागि आवश्यक अनुमति समेत नलिएर अवैध रूपमा विद्यालय भवनमाथि कब्जा जमाएको पाइएपछि महानगरले कलेजमा सिल गरेको समितिका संयोजक इश्वरचन्द्र यादवले बताए। नियमन समितिले विद्यालय भवनको मुख्य प्रवेशद्वारमा सिल गरेको यादवले जानकारी दिए।

त्यस्तै सोमबारनै महानगरको नियमन समितिले वीरगञ्ज महानगरपालिका-११ स्थित युनिभर्सल एकेडेमी कलेजमा पनि सिल गरेको यादवले बताए।युनिभर्सल एकेडेमीले पनि कलेज सञ्चालनका लागि आवश्यक अनुमति नलिएको पाइएपछि महानगरले सिल गरेको यादवले जानकारी दिए।

यसअघि भदौ १३ गते पनि वीरगन्ज महानगरकै टोलीले आवश्यक अनुमति नलिएको भन्दै वीरगन्ज स्कुल अफ ल, इम्पेरियल कलेज र बिजी बी किड्समा पनि सिल गरेको थियो।

नियमन समितिमा वडा नम्बर १६ का वडाध्यक्ष परशुराम चौरसिया, महानगरको शिक्षा महाशाखाकी अधिकृत सिर्जना बुढाथोकी, मेयरका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी इन्चार्ज हरि भुसाल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि ब्रह्मदेव प्रसाद यादव लगायतको सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *