‘ग्याङ लिडर’ सँगको सम्बन्धका कारण श्रीमतीले नै ‘सुटर’ लगाएर श्रीमानको हत्या


बारा – बाराको पचरौता नगरपलिका-६ मा गत हप्ता गोली प्रहारबाट गरिएको भारतीय नागरिकको हत्या उनकै श्रीमतीको योजनामा भएको खुलेको छ। हत्यामा संलग्न भएकी मृतक अजितकी श्रीमती सोनम सहनी सिंहलाई प्रहरीले पक्राउ गरी आज (आइतबार) सार्वजनिक गरेको छ।

असोज १० गते मोतीहारी जिल्लाको दर्पा थाना–१, सुक्लहिया गाउँ बस्ने वर्ष २२ का अजितकुमार सिंहको गोली प्रहार गरी हत्या भएको थियो । भारतीय नागरिक सिंहको नेपाल–भारत सीमाभन्दा करिब ७ सय मिटर नेपालतर्फ बाराको पचरौता नगरपालिका–६ लक्ष्मीनियास्थित पोखरी नजिकै मोटरसाइकलमा आएका चार भारतीय नागरिकले उनको हत्या गरेका थिए ।

हत्यामा भारतीय ग्याङ वार र अबैध यौन सम्बन्ध कारण देखिएको बारा प्रहरीले जनाएको छ । सोनमले आफ्नै श्रीमान अजितको हत्याको योजना बनाई भारतीय सुटरसँग मिलेर हत्या गराएको खुलेको प्रहरीले जनाएको छ । मृतक अजितसँगै भारतको मोतीहारी जिल्ला, दर्पा थाना–१ सुक्लहिया बस्ने वर्ष २५ का सुजितकुमार सिंह, सोही स्थानका वर्ष २४ का चञ्चल पाण्डे, वर्ष २२ का मनीषकुमार सहनी र वर्ष २० का कामेश्वर सहनी दुई वटा अन टेस्ट मोटरसाइकलमा नेपाल प्रवेश गरेर गोली प्रहार गरी अजितको हत्या गरेका थिए ।

पक्राउ परेकी मृतककी श्रीमती सोनमको ग्याङका लिडर सुजित सिंहसँग अवैध यौन सम्बन्ध भएकाले हत्या गरिएको खुलेको बाराका प्रहरी उरीक्षक सुरेशकुमार काफ्लेले जानकारी दिए । तीन वर्ष पहिले सो ग्याङले भारतको घोडासहनबाट लुटपाट गरिएको ४० लाख रकममध्ये अजितको हिस्सामा आउने रकम पनि दिनु नपर्ने र आफ्नै श्रीमानको हत्या गराई सुजितसँग बसेर ग्याङको लिडर बन्ने उद्देश्यले नै सोनमले आफ्नै श्रीमान अजितको हत्या गराएको पाइएको लठ अनुसन्धानमा खुलेको काफ्लेले बताए ।

‘यो ग्याङमा नयाँ मानिस ल्याउने पुरानालाई हटाउँदै जाने प्रवृत्ति देखिएको छ, सोनमको ग्याङकै सुजित सिंहसँत अबैध सम्बन्ध भएको देखिएको छ,’ उनले भने, ‘त्यही कारण आफ्नै श्रीमानको हत्या गराएपछि ग्याङको लिडर पनि बन्ने र लुटपाटको रकममा भाग लागेको रकम पनि दिन नपर्ने भएर सोनमले नै हत्या गराएकी हुन् ।’

भारतीय नागरिकलाई नेपालमा ल्याएर हत्या गरेपछि पक्राउ नपर्ने डरले नै यता बारा जिल्लामा ल्याएर भारतीय नागरिकको हत्या गरिएको अनुसन्धानको क्रममा देखिएको प्रहरी उपरीक्षक काफ्लेको भनाइ छ । पक्राउ परेकी सोनम बाराकै महागढी नगरपालिकास्थित आफ्नै श्रीमानसँग बस्दै आएकी थिइन् । उनी यसअघि पनि बिहे गरेर एक जना श्रीमानलाई छाडेको पाइएको प्रहरीको भनाई छ । हत्यामा संलग्न चारै जना भारतीय नागरिक भने फरार छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया