रास्वपाको १०८ क्षेत्रमा अग्रता, ३ उम्मेदवार विजयी
काठमाडाैं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतगणना जारी छ । हालसम्म प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा धेरै स्थानमा अग्रता देखिएको छ । तीन उम्मेदवार विजयी भइसकेका छन् ।
देशकै सबैभन्दा बढी चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले ११ हजार ९ सय ४५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमाले अध्यक्ष केपी शर्मा ओलीले २ हजार ६ सय ९२ मत मात्र प्राप्त गरेका छन् । शाह ओलीभन्दा ११ हजार बढी मतले अगाडि देखिएका छन् ।
यस्तै चितवन २ बाट रास्वपाका सभापति रवि लामिछानेले १७ हजार ४१२ मतसहित अग्रता बनाएका छन् । नेकपा एमालेका अस्मिन घिमिरेले ५ हजार ०३७ मत पाएका छन् । अर्को चर्चित निर्वाचन क्षेत्र भक्तपुर २ मा एमालेका सचिव महेश बस्नेतले ३ हजार ६९२ मत ल्याएका छन् भने रास्वपाका राजीव खत्री १२ हजार ५८७ मत ल्याएर अघि छन् ।
यसैगरी चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य सोविता गौतम ९ हजार ८७९ मतसहित अगाडि छन् । दुई पटक चितवनको भरतपुर महानगरपालिका प्रमुख बनेकी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालले ५ हजार २५६ मत पाएकी छन् ।
काठमाडौं-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजुनाथ पाण्डे ११ हजार ९७२ मतसहित अग्रता लिइरहेका छन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ७ हजार ७४५ मतसहित पछाडि परेका छन् ।
काठमाडौं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना न्यौपाने, काठमाडौं-८ मा विराजभत्त श्रेष्ठ र काठमाडौं-६ मा शिशिर खनाल निर्वाचित भएकी छन् ।
