दार्चुलाको ब्याँसमा हिमपहिरो, ९ जना बेपत्ता भएको आशंका
दार्चुला – दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा हिमपहिरो गएको छ।
मंगलबार दिउँसो पौने ३ बजे गएको हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण प्रभावित भएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
हिमपहिरो गएको क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टोली गएका छन्।
बोलिनमा यार्सागुम्बा टिप्न गएका ८/९ जना त्रिपाल टाँगेर बसेका थिए। यार्सागुम्बा खोज्न गएका केही व्यक्तिहरू हिमपहिरोमा पुरिएको आशंका गरिएको छ।
यसबारे विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।