मुक्तिनाथमा लेक लागेर भारतीय दर्शनार्थीको मृत्यु

जोमसोम – लेक (हाईअल्टिच्युड) लागेर मुस्ताङमा एक भारतीय महिलाको मृत्यु भएको छ। भारतको बैङ्लोरदेखि मुक्तिनाथ दर्शन गर्न आएकी ६७ वर्षीया सौभाग्यवतीको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

भारतको बैङ्लोरदेखि २५ जनाको भारतीय दर्शनार्थी टोली हवाई उडानमार्फत बिहीबार बिहान जोमसोम आइपुगेका थिए। उनीहरू जोमसोमबाट बस चढेर मुक्तिनाथ मन्दिर पुगेका थिए। मुक्तिनाथ मन्दिरको १०८ धारामा स्नान गर्दै गर्दा उनी त्यही ढलिन्।

उनलाई ट्याक्सीमा राखेर उपचार गर्न जोमसोम अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर अधिकारीले जानकारी दिए। घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मुक्तिनाथमा चालु वर्षको ६ महिनामै ११ जनाको लेक लागेर मृत्यु भइसकेको कार्यालयले जनाएको छ। मुक्तिनाथ मन्दिर समुन्द्री सतहदेखि ३८ सय मिटरको उचाइमा अवस्थित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *