चट्याङ लागेर एक जनाको मृत्यु


गुल्मी – चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ । मदाने गाउँपालिका १, अग्लुङका १४ वर्षीय चन्द्र विष्टको आफ्नै घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।

चट्याङ लागेर घाइते भएका विष्टको मदाने पोलिक्लिनिक, पुर्कोटदहमा उपचारपछि थप उपचारका लागि गुल्मी अस्पतालमा लगिएको थियो । तर गुल्मी अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यस्तै अग्लुङमै चट्याङ लागेर ४५ वर्षीया संगीता विष्ट घाइते भएको प्रहरीले जनाएको छ । उनको मदाने पोलिक्लिनिकमा उपचार भइरहेको छ।  मदाने गाउँपालिकामा चट्याङ लागेर २०७४ सालदेखि हरेक वर्ष कम्तीमा एक जनाको मृत्यु हुने गरेको गाउँपालिका कार्यालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया