बाँकेमा घाँटी रेटिएको अवस्थामा श्रीमान-श्रीमती भेटिए


बाँके – बाँकेमा घाँटी रेटिएको अवस्थामा श्रीमान-श्रीमती फेला परेका छन् । नेपालगञ्ज-२१ मा घाँटी रेटेर एक युवकको हत्या भएको घटनाको २४ घण्टा बित्न नपाउँदै बाँकेको खजुरा गाउँपालिकामा श्रीमान-श्रीमती घाँटी रेटिएको अवस्थामा भेटिएका हुन् ।

आज (सोमबार) दिउँसो घरमा कोही नभएको र श्रीमान-श्रीमती मात्रै रहेको बेला सो घटना भएको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार खजुरा-३ बिगाउँका अन्दाजी २५-२६ वर्षका श्रीमान महेन्द्र रावत र श्रीमती गीतासिंह ठकुरीको धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा भेटिएका हुन् ।

गम्भीर अवस्थामा रहेका दुबै जनालाई इलाका प्रहरी कार्यालय धनौली खजुराबाट गएको प्रहरी टोलीले उपचारका लागि भेरी अस्पतालमा पुर्‍याएको थियो । भेरी अस्पतालले दुबै जनालाई नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरेको भेरी अस्पतालले जनाएको छ । उनीहरुको उपचार नेपालगञ्ज मेडिकल कलेजमा भइरहेको र अवस्था गम्भीर रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले घटना रहस्यमय रहेको बताएका छन् उनका अनुसार दुबै जनाले एक अर्काको घाँटी रेटेका हुन् कि उनीहरुलाई कसैले घाँटी रेटेर हत्या गर्न खोजेको हो अनुसन्धान भइरहेको उनले बताएका छन् ।

प्रतिक्रिया