आज विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री


कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज (शुक्रबार) बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि आज बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालय जनाएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिन आज अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

यही वैशाख ६ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

अहिलेसम्म नाउपाका कैलाश चौधरी र टीका थापा मात्र सरकारमा गएका छन् भने एमाले र माओवादी केन्द्र सरकारमा सामेल भएका छैनन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नाउपाका ७, एकीकृत समाजवादीका ४ , राप्रपाका एक र एक स्वतन्त्र सदस्य रहेका छन्।

प्रतिक्रिया