आमा र दुई नाबालक छोराछोरी घरभित्रै मृत अवस्थामा फेला


सर्लाही – सर्लाहीमा आमासहित दुई छोराछोरी घरभित्रै मृत भेटिएका छन् । सर्लाही बरहथवा नगरपालिका–१ बस्ने शिरे हजराकी श्रीमती २६ वर्षीया कविता हजरा, ६ वर्षीया छोरी सलोनी कुमारी र ४ वर्षीय छोरा स्वागत घरमै मृत भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उमाशंकर यादवका अनुसार उनीहरु आइतबार बिहान घरमै मृत फेला परेका हुन् । आमा कविता पासो लागेको अवस्थामा र छोराछोरी ओछयानमै मृत फेला परेका छन् । बिहान नउठेपछि छरछिमेकले खोजी गरेका थिए । कविताकी श्रीमान् शिरे वैदेशिक रोजगारमा मलेसियामा छन् । उनले घरमै एउटा सटरमा किराना पसल चलाएकी थिइन्। सटरभित्रै तीनै जना मृत भेटिएको बरहथवाका मेयर देवानन्द मेहताले बताए ।

घटनास्थलको मुचुल्का उठाइ तीनै जनाको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ । आमाले छोराछोरीलाई विष खुवाएर ज्यान लिएपछि आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । घटना शनिबार मध्यरातकै हुन सक्ने डीएसपी यादवले बताए । उनले पोस्टमार्टम र अनुसन्धानपछि घटनाको कारण खुल्ने बताएका छन् ।

प्रतिक्रिया