निर्वाचन आचारसंहिता: एमालेद्वारा ६ बुँदे असहमति पेश
काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा संविधान र कानुनसँग बाझिएका विषय राखेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले लिखित रूपमा असहमति राखेको छ ।
निर्वाचन आयोगले बैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनका लागि जारी आचारसंहितामा संविधान र कानुनसँग बाझिए बाहेकका विषय मात्रै मान्ने भन्दै एमाले महासचिव शंकर पोखरेलले पत्र बुझाएका छन् ।
एमाले महासचिव पोखरेलले बिहीबार आयोगलाई बुझाएको पत्रमा भनिएको छ, ‘एमाले नेपालको संविधान तथा संसदद्वारा पारित गरिएका कानुनहरूप्रति सदैव प्रतिबद्ध छ । यस आयोगले तयार पारेको आचारसंहितासहित संविधान र कानुनसँग बाझिएको बाहेक कुनै पनि निकायद्वारा जारी गरिएका वा जारी हुने संहिताहरूको पालन गर्न/गराउन समेत हाम्रो पार्टी प्रतिबद्ध छ ।’
निर्वाचन आयोगले चैत ३ गते राजपत्रमा प्रकाशीत गरी सार्वजनिक गरेको आचारसंहिताका विभिन्न व्यवस्थामा एमालेले असहमति जनाएको छ । कतिपय व्यवस्था संविधान र कानुन विपरीत रहेकोमा एमालेले आपत्ति जनाएको छ ।