१७ बुँदे प्रस्ताव पारित गर्दै एकीकृत समाजवादीको बैठक सम्पन्न


काठमाडौं – विभिन्न समसामयिक १७ बुँदे प्रस्ताव पारित गर्दै नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को पहिलो बैठक सम्पन्न भएको छ ।

बैठकले एसपीपीमा नेपाल संलग्न नहुने पत्र अमेरिकालाई पठाएकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्ने, कम्युनिस्ट एकतामा जोड दिँदै वामपन्थी शक्तिहरूलाई संघीयता र धर्मनिरपेक्षताको पक्षमा एकजुट हुन पनि आह्वान गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

दैनिक जनजीवन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिसँग सम्बन्धित अन्य प्रस्तावमा समाजवादीले मूल्यवृद्धि नियन्त्रण गर्न र किसानलाई सहज तरिकाबाट मल बिउबिजनको व्यवस्था गर्न माग गरेको छ।

यस्तै महिला तथा बालबालिकामाथि भइरहेको बलात्कारको घटनाको भत्सर्ना बैठकले गरेको छ । विपद्बाट हुनसक्ने क्षतिबाट बच्न पार्टी पंक्ति लाग्ने प्रस्ताव पारित गर्दै भारतीय बाँधको समस्या समाधान गर्न पनि सरकारसमक्ष माग गरिएको छ । भ्रष्टाचारमाथि कारबाही,सुकुम्बासी समस्या समाधान, हैजाको रोकथामलगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराएकाे जनाइएको छ ।

केन्द्रीय परिषद् बैठकले अध्यक्षको प्रतिवेदन संशोधनसहित पारित गरेको पनि खतिवडाले जानकारी दिए । लगभग १६०० जना परिषद् सदस्य सहभागी बैठकमा आम निर्वाचन र प्रदेशको निर्वाचनमा पार्टीलाई सबै क्षेत्रमा उभ्याउने भनेर साझा निर्णय भएको पनि उनले बताए ।

बैठकले गठबन्धनमात्रै नभइ पार्टीको शक्ति र क्षमताले भ्याएसम्म घरघरमा पार्टीको चुनाव चिह्न लिएर अघि बढ्न नेता कार्यकर्तालाई आह्वान गरेको छ । पार्टी सम्पूर्ण रुपमा चुनावमा होमिएको पनि खतिवडाले बताए । बैठकमा अध्यक्ष माधव कुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि ११ समूहमा छलफल भएको थियो । छलफलबाट आएका सुझावलाई समेटेर प्रतिवेदनलाई पूर्णता दिइने समाजवादीको भनाइ छ।

प्रतिक्रिया