पर्सा राष्ट्रिय निकुञ्जबाट गाँजासहित ७ जना पक्राउ


हेटौँडा – लागु औषध गाँजासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो मंगलबार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-४ माथिल्लो मसिनेबाट १५० किलो लागु औषध गाँजासहित प्रहरी उनीहरुलाई पक्राउ गरेको हो ।

पर्सा राष्ट्रिय निकुञ्जको कोर इलाका रहेको मसिने क्षेत्रको मध्यवर्ती सामुदायिक वनबाट पर्सा (वीरगन्ज)तर्फ लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको लागु औषध गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

निकुञ्ज चेक पोस्ट लामिटारबाट खटिएको कर्मचारी र सोही निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको संयुक्त टोलीले मानिसहरूले लागु औषध गाँजा बोरामा बोकेर पैदल पर्सातर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

निकुञ्ज र सेनाको टोलीले फेला पारेको लागुऔषध गाँजाका विषयमा प्रहरीलाई खबर गरे पश्चात् जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रकाश सिम्खडा र इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायव निरीक्षक रामशरण दुलालको कमान्डमा टोलीले अनुसन्धानका लागि पुगेको उनको भनाई छ ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट २५ किलोमिटर दक्षिण तर्फ पर्ने सो स्थानबाट लागुऔषध गाँजा १५० किलोसहित मकवानपुर राक्सिराङ गाउँपालिका-३ बस्ने वर्ष १५ र राक्सिराङ-७ बस्ने वर्ष १९ का २ युवक रहेका छन् भने कैलाश गाउँपालिका-४ बस्ने वर्ष २८ को बमबहादुर चेपाङ, सोही स्थान बस्ने वर्ष २७ को हरिकुमार प्रजा, वर्ष २७ को वीरमान प्रजा, मनहरी-३ हाडीखोला बस्ने वर्ष ४४ को रामहरि लुइँटेल र मनहरी-५ बस्ने वर्ष ३६ को दीपक थापामगरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक मगरले बताए ।

प्रतिक्रिया