कांग्रेस बैठक : संसदमा एमसीसी लैजानु पर्नेमा जोड
काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ । बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
आजको बैठकमा स्थानीय तहको निर्वाचन, भातृ तथा शुभेच्छुक संस्थाहरुलाई सशक्त बनाउनेदेखि लिएर एमसीसी लगायतको विषयमा छलफल भएको प्रवक्ता महतले जानकारी दिए । ‘स्थानीय निर्वाचनमा कांग्रेसलाई सशक्त बनाउने । भातृसंस्था र शुभेच्छुक संस्थाको मेयाद सकियको र रिक्त रहेकोमा त्यसबारे के गर्ने भन्नेमा छलफल भएको छ ।’ उनले भनेका छन्, ‘एमसीसीको बारेमा पनि छलफल भएको छ। अन्यौल समाप्त गरेर संसदीय प्रक्रिया अगाडि बढाउनुपर्छ ।’
त्यसैगरी संसदमा एमसीसी लैजानुपर्नेमा जोड दिँदै आगामी निर्वाचनमा गठबन्धनका विषयमा निर्णय गर्ने बेला नभएको बताए । ‘संसदमा एमसीसी लानुपर्छ । गठबन्धनको विषयमा निर्णय गर्ने बेला भएको छैन ।
सबै दलले आफ्नो आधारबारे मूल्यांकन गर्लान । उपयुक्त समयमा निर्णय आउँछ ।’ उनले भने । त्यस्तै पार्टी र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई समेत विधानसम्मत गराउनुपर्नेमा बैठकमा छलफल भएको बताए । ‘विधानसम्मत नै गरेर लैजाने हो । ती संगठनलाई प्रभावकारी बनाउने ।’ उनले भने । आजको बैठकमा अन्य केही नेताहरुले आ-आफ्नो धारणा राखेको र बाँकी रहेका नेताहरुले भोलिको बैठकमा आ-आफ्नो धारणा राख्ने बताए ।