एउटा पसलबाट सल्केको आगोले १४ परिवारको घरगोठ जल्यो


नवलपरासी – नवलपरासीमा आगलागीबाट १४ परिवारको घरगोठ जलेको छ ।  नवलपरासीको पाल्हीनन्दन गाउँपालिको पडरी गाउँमा आगलागीबाट उनीहरुको घरगोठ जलेको हो ।

हिजो दिउँसो ४ बजेतिर स्थानीय पसलबाट सल्केको आगोले पाल्हीनन्दन गाउँपालिका वडा नम्बर-६ पडरी गाउँका चन्द्रिका धोबी, चन्ना धोबी, भिखारी धोबी, रामवृक्ष धोबी, बुलाकी धोबी, कमरूद्दीन अन्सारी, राजेश धोबी, केश महम्मद, इजहार अन्सारी, अहमद अन्सारी, नुरुलहोदा पठान, इद्रिश पठान र कोइल पठानलगायतको गरी १४ जनाको घरगोठमा क्षति भएको वडाध्यक्ष कृष्णचन्द्र यादवले जानकारी दिए ।

आगलागीबाट घरमा रहेका कपडा, गरगहना, नगद जलेका छन् । आगो रामग्राम र बर्दघाट नगरपालिकाको दमकल तथा स्थानियबासिन्दा र प्रहरीको सहयोगमा बेलुका नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया